Friday, May 16, 2025

अन्नमा आधारित पुरक बाल आहारको (Cereal Based Complementary Foods) लागि तोकिएको मापदण्ड कति तथ्यपरक ?

तत्कालिन खाद्य ऐन २०२३ र नियमावली २०२७ बमोजिम ०७.२८ अन्नमा आधारित पुरक बाल आहार (Cereal Based Complementary Foods for Infants and Young Children) नामक खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्ड मिति २०७९/११/०१ मा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६० मा प्रकाशन भएको छ l

उक्त मापदण्डको आवश्यक गुणस्तर परिधिहरुमा बिभिन्न चारित्रिक गुणहरु र त्यसको मात्रा तोकिएको छ, जसमध्ये खाद्य पदार्थहरुको मुख्य पोषक तत्वहरुको विवरण (proximate composition) संग सम्बन्धित चारित्रिक गुणहरु देहाय बमोजिम तोकिएको पाइन्छ :

क्र. स.

चारित्रिक गुणहरु

मात्रा

1

जलांश, प्रतिशत बढीमा (Moisture, Maximum)

8.0

2

चिल्लो पदार्थ, प्रतिशत बढीमा (सुख्खा तौलको आधारमा) (Total fat, Maximum)

13.0

3

कुल प्रोटिन, प्रतिशत घटीमा (सुख्खा तौलको आधारमा) (Total Protein, Minimum) (N x 6.25)

15.0

4

कुल कार्बोहाइड्रेट, प्रतिशत बढीमा (सुख्खा तौलको आधारमा) (Total Carbohydrate, Maximum)

56.0

5

क्रुड फाइबर, प्रतिशत बढीमा (सुख्खा तौलको आधारमा) (Crude fiber, Maximum)

3.0

6

कुल भष्म, प्रतिशत बढीमा (सुख्खा तौलको आधारमा) (Total Ash, Maximum)

5.0

यी माथिका सबै गुणहरु अनिवार्य गुणस्तरमा पर्ने भएको हुदा सबै मापदण्ड पुरा भएमा मात्र उक्त खाद्य पदार्थ गुणस्तरीय रहेको कानुनी मान्यता पाउने हुन्छ l उक्त मापदण्डमा मुख्य पोषकतत्वहरु प्रयोगशाला विश्लेषण नतिजाबाट प्राप्त गरि सकेपछि कार्बोहाइड्रेटको मात्रालाई बाँकि पोषक तत्वको रुपमा आँकलन (calculation by difference) गर्ने गरिन्छ l त्यसैले Monte Carlo Simulation Software को प्रयोग गरि कार्बोहाइड्रेट बाहेकको मापदण्डहरु पुरा गर्ने गरी (Fat content 0-13% db, Protein content 15 to 30 % db, Crude fiber 0-3 % db and Total ash 0 to 5% db with uniform distribution for whole range)  कम्प्युटर सिमुलेसन (Simulation) बाट 10,000 वटा फरक फरक कम्पोजिसन भएको अन्नमा आधारित पुरक बाल आहारको कम्पोजिसन तयार गरि ती सबैको कार्बोहाइड्रेटको मात्रा आँकलन गरिएको थियो l उक्त अनुसन्धानबाट प्राप्त 10,000 कम्पोजिसनको  कार्बोहाइड्रेटको मात्राको frequency distribution तल देखाइएको छ l 


कार्बोहाइड्रेटको मात्रा ५६ प्रतिशत (सुख्खा तौलको आधारमा ) भन्दा कम भएको कम्पोजिसनको संख्या थोरै देखिन्छ भने ५६ प्रतिशत (सुख्खा तौलको आधारमा ) भन्दा बढी भएको कम्पोजिसनको संख्या एकदम धेरै रहेको देखिन्छ l  तथ्यांकमा भन्नु पर्दा, तोकिएको अनिवार्य मापदण्ड सँग चेकजाँच गर्दा 10,000 कम्पोजिसन मध्ये 297 वटा कम्पोजिसनले मात्र सो अनिवार्य मापदण्ड सबै पुरा गर्न सकेको पाइयो भने बाँकि 9703 वटा कम्पोजिसनले कार्बोहाइड्रेटको लागि तोकिएको मात्रामा सफल हुन नसकी गुणस्तर मापदण्ड पुरा गर्न सकेको पाइएन l सबै गुणस्तर पुरा गर्दा गर्दै पनि कार्बोहाइड्रेट को लागि तोकिएको गुणस्तर मापदण्ड पुरा गर्न नसकेको ९७०३ वटा को कम्पोजिसन डेटा यस लिंकमा रहेको छ l

सबै गुणस्तर मापदण्ड पुरा गर्न सकेको २९७ वटा को कम्पोजिसन डेटा यस लिंकमा रहेको छ l डेटा को अध्ययन गर्ने हो भने त्यसमा प्रष्ट हुन्छ कि प्रोटिनको मात्रा मापदण्डले घटीमा १५ % (सुख्खा तौलको आधारमा) तोकिएको भएता पनि प्रोटिनको मात्रा करिब २३ प्रतिशत भन्दा बढी नभईकन कुनै पनि हालतमा उक्त सबै चारित्रिक गुणहरुको मात्रा पुरा गर्न सक्ने सम्भावना रहदैन l त्यसैले अन्य चारित्रिक गुणहरु ( चिल्लो पदार्थ, प्रोटिन, फाइबर, भष्म, जलाम्श लगायत अन्य मापदण्डहरु ) पुरा गर्न कोसिस गर्दा गर्दै पनि कार्बोहाइड्रेटको मात्रा नमिल्दा ९७ % खाद्य पदार्थहरु तोकिएको मापदण्ड बमोजिम गुणस्तरहिन हुन जाने सम्भावना देखिन्छ l

अब प्रश्न उठ्छ :

१) उक्त मापदण्ड लागु नै भै सकेको हुदा सो मापदण्ड पालन गर्नु गराउनु हामी सबैको कर्तब्य हो l लागु गर्न असम्भब नै हो त ? भन्ने प्रश्नमा कम्पोजिसन मिलाएर उत्पादन गर्दा लागु गर्न सकिने अवस्था छ, जुन माथिकै उदाहारण बाट नै पुष्टि हुन्छ l उद्योगीले त्यो गरेका छन् त, त्यो चै प्रश्न नै हो ?

२) उक्त मापदण्ड राजपत्रमा प्रकाशन भई लागु भइरहेको हुदा उक्त अन्नमा आधारित पुरक बाल आहार भनी लेबलमा लेखिएको खाद्य पदार्थहरुको मापदण्ड कसरी पुगेको छ ? बजारमा उत्पादन भई रहेका र उत्पादकले लेबलमा दाबी गरेको पौष्टिक विवरण कै आधारमा हेर्ने हो भने पनि कुनै पनि उद्योगको उत्पादन ले उक्त मापदण्ड पुरा गर्न सक्ने अवस्था छैन  l 

नाम चलेका केहि ब्रान्डहरुको उदाहरण हेरौ:

केहि बाल आहार उत्पादनहरुको लेबल विवरण देहाय बमोजिम देखिन्छ (बिभिन्न फ्लावरको भए पनि पौष्ठिक तत्व कम्पोजिसन उही भएकोले एउटा मात्र देखाइएको छ) l लेबल अध्ययन बाट नै प्रष्ट हुन्छ की सर्बोत्तम ब्रान्डको र माम-माम ब्रान्डको बाल आहारमा कार्बोहाइड्रेटको मात्रा स्वयम् उत्पादकले दाबी गरे अनुसार मापदण्ड भन्दा बढी रहेको देखिन्छ l ज्ञान को उत्पादनले कार्बोहाइड्रेटको मात्रा ५६ प्रतिशत भनी दाबी गरिएको भएता पनि मापदण्ड अनुसार सुख्खा तौलको आधारमा गणना गर्दा त्यो भन्दा बढी नै हुन जान्छ l त्यसैले ज्ञानको बाल आहारले पनि तोकिएको मापदण्ड पुगेको छैन भनेर लेबलमा नै खुलाएको अवस्था देखिन्छ l मिठो सगुनको लिटोले प्रोटिनको मात्र बढाएर २६ % पुर्याई कार्बोहाइड्रेटको मात्र ५५ मा राख्न सकेको देखिन्छ, तर सुख्खा तौलको आधारमा गणना गर्ने हो भने कार्बोहाइड्रेटको मात्रा तोकिएको मापदण्ड भन्दा बढी हुन जाने स्पष्ट छ ( जलाम्श ५% मात्र मान्दा पनि) l यसरी बजारमा रहेका धेरै जसो बाल आहारले तोकिएको मापदण्ड पुरा नगरेको स्पष्ट देखिदा नियमनमा प्रश्न उठ्नु अस्वाभाविक हुन सक्दैन  l

SN

Sample name

Energy

Protein

Fat

carbohydrate

Manufactured by

DFTQC Nu

1

Gyan (Mixed fruit flavor)

381

19

9

56

Vikas Food Products (P.) Ltd, Parvatipur, Kohalpur-14, Banke, Nepal

01-57-81-07-936

2

Sarbottam premium lito (Mixed fruits)

400

16

6

70

BLC instant foods Pvt. Ltd (Duhabi, Sunsari, Nepal)

01-06-59-7-398

3

LITO - Mitho sagun

431

26

11.9

55

Sarbottam pitho udhyog, pvt.Ltd, Buddhanilkantha nagarpalika -11, Kapan

01-27-59-07-400

4

Mam-Mam

396

15

5.28

66

Allied Food Industry, Imadol-4, Lalitpur

01-25-53-04-005

३) त्यसैगरी, कुनै पनि खाद्य पदार्थको मापदण्ड ९७ % फेल हुन सक्ने सम्भावना रहने गरि मापदण्ड निर्धारण गर्नु  तर्क संगत मान्न सकिदैन l अत, गुणस्तर मापदण्डमा नै प्रश्न उठ्नु लाई पनि अस्वाभाविक मान्न सकिदैन l यसै बर्ष देखि लागु भएको “खाद्य स्वच्छता तथा गुणस्तर ऐन , २०८१” को प्रस्तावनामा नै “बैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्न” भन्ने मर्म लाई आत्मसात गर्दै बिस्तृत अध्ययन अनुसन्धान र बैज्ञानिक तथ्यको आधारमा पारदर्शी रुपमा खाद्य पदार्थको गुणस्तर तोक्ने कार्य गर्न सके मात्र ऐनको परिकल्पना पुरा हुने र त्यसले खाद्य स्वच्छता तथा गुणस्तर नियमनलाई टेवा पुग्ने कुरामा दुई मत हुदैन होला l बैज्ञानिक तथ्यको महत्व बुझेर नै यस पालिको बिश्व खाद्य स्वच्छता दिवसको मर्म (Food Safety: Science in Action)  मा पनि बैज्ञानिक तथ्यलाई कार्यन्वयनमा ल्याएर मात्र खाद्य स्वच्छता कायम गर्न सकिन्छ भन्ने विचारलाई आत्मसात गर्न खोजेको देखिन्छ l 

४) बजारमा उत्पादन भई रहेको खाद्य पदार्थले नेपाल सरकारले तोकेको मापदण्ड पुरा नगर्दा पनि हुने अवस्था हुनु कानुन सम्मत छैन l अत, मापदण्डमा परिवर्तन नभए सम्मलाई हालको मापदण्ड पालन गर्ने गरि मात्र उधोगिले उत्पादन गर्ने / गर्न लगाउने व्यस्था हुनु पर्दछ l साथै, नेपाल सरकारले आवश्यक ठानेमा छिटो भन्दा छिटो तोकिएको मापदण्डमा पनि बैज्ञानिक तथ्यको आधारमा सुधार गर्नु उपयुक्त हुन्छ l

No comments:

Post a Comment

Popular Posts