Friday, May 23, 2025

ट्रान्स फ्याट बारे छलफल

  • ट्रान्स फ्याटलाई अति खराब चिल्लो (अखचि) भनि नेपाली नामकरण गर्ने बारे छलफल भएको सुनिन्छ, त्यसमा सहमत हुनेहरु पनि छन्, र असहमति जनाउनेहरु पनि l बिज्ञहरु बीच पनि यो छलफल को बिषय नै हो l
  • ट्रान्स फ्याट धेरैको लागि एउटा नौलो बिषय हो l यस बारे उपभोक्ताको बुझाईमा कमि नै छ जस्तो लाग्छ l
  • एकातिर ट्रान्स फ्याट एकदमै नराम्रो हानिकारक चिल्लो पदार्थ हो भन्ने बुझाई बिभिन्न माध्ययमबाट सुन्न पाइन्छ, अर्को तिर ट्रान्स फ्याट दुध, तेल, माछा, मासु, चिज, बेकरी, आइसक्रिम लगायत चिल्लो पदार्थ हुने करिब सबै खाद्य पदार्थमा पाइन्छ भन्ने पनि सुन्न पाइन्छ l त्यसो भए उपभोक्ताले गर्ने चै के होला ?, के सबै चिल्लो पदार्थ भएका खाद्य पदार्थ लाई खान पो छोडिदिने कि ? त्यसमा पोषणयुक्त मानिएका खाध्य पदार्थहरु पनि पर्दछन, फेरी ती खाद्य पदार्थहरु केहि नखाएर शरीरलाई चाहिने पोषण कसरि प्राप्त गर्ने ?
  • प्रशोधित खाद्य पदार्थ खानै हुदैन भन्ने पनि भेटिन्छन, ती सबैमा ट्रान्स फ्याट हुने पो हो कि ?
  • तारेर पकाएकोमा ट्रान्स फ्याट हुन्छ भन्ने पनि सुनिन्छ भने फ्रोजन गरेको आइसक्रिमहरुमा ट्रान्स फ्याट बढी हुन्छ भन्ने पनि सुनिएको छ l

साधारण उपभोक्ताको लागि अलमलिने बिषय नै हो जस्तो लाग्छ l तर बिषयको गाम्भीर्यताको कारण उपभोक्ताले बुझ्न जरुरि पनि  छ l यो लेख बिज्ञहरुको लागि होइन, साधारण उपभोक्ताको लागी प्राबिधिक बिषयलाइ सरलीकृत गर्न कोशिस गरेर आफ्नो बुझाई र केहि विचार राख्ने कोशिस मात्र हो l प्राबिधिक शब्दहरुलाई नेपालीकरण गर्न खोज्दा धेरै ठाउमा नमिलेको आफैलाई महशुस भएको छ, सुधारको लागि सहयोग गर्नु होला l बिज्ञहरुले गल्तिहरुलाई औल्याई, छुटपुट बिषयलाइ थप गरि प्रतिक्रिया प्रदान गरिदिनु हुनेछ भन्ने आशा छ l लेख अलिक लामो भयो जस्तो छ, तपाइको अमुल्य समयको लागि अग्रिम धन्यवाद l

प्रश्न १ . ट्रान्स फ्याट के हो ?

ट्रान्स फ्याटको शाब्दिक अर्थ नेपाली नामकरण गर्न खोजीएको जस्तो “अति खराब चिल्लो (अखचि)” चै होइन l त्यो खराब हो कि होइन र कति खराब हो ?, पछी छलफल गरौला l पहिला ट्रान्स फ्याट के हो ? त्यो छलफल गरौ l

“ट्रान्स” भन्ने शब्द रसायन बिज्ञान को शब्द हो l चिल्लो पदार्थहरु मूलतः कार्बन, हाइड्रोजन र अक्सिजनहरु बाट बनेको हुन्छ l त्यसको प्रत्येक फ्याट्टी एसिडको अणुमा २ देखि करिब ३० वटा सम्म कार्बनको परमाणुहरु एक आपसमा सिक्री जस्तै लामो जोडिएर बनेको हुन्छ l ती कार्बनको परमाणु हरु बीच एकोहोरो, दोहोरो वा तेहोरो सम्मको बन्धन हुन सक्छन l दोहोरो बन्धन भएको ठाउमा चिल्लो पदार्थको अणुको सिक्रीको आकार बंगिएको भए त्यसलाई “सीस रुपको” भनिन्छ भने, कुनै चिल्लो पदार्थको अणुको सिक्रीमा दोहोरो बन्धन भएको ठाउमा पनि सिधा रहेको हुन्छ र त्यस्तो अवस्थाको बन्धनलाई “ट्रान्स रुपको” भनिन्छ l साधारण रुपमा बुझ्नु पर्दा दोहोरो बन्धन भएर पनि नाबांगिएको सिधा आकारको फ्याट्टी एसिड भएको चिल्लो पदार्थ नै “ट्रान्स फ्याट” को स्वरूप हो l धेरै जसो चिल्लो पदार्थको फ्याट्टी एसिड प्राकृतिक रुपमा बांगो आकार (सीस अवस्था) मा पाइन्छ, तर सिधा आकारको (ट्रान्स फ्याट) फ्याट्टी एसिड भएको चिल्लो पदार्थ बिभिन्न खाद्य पदार्थमा प्राकृतिक रुपमै केहि मात्रामा पाइने गर्छ l

चिल्लो पदार्थको अणुको सबै कुरा उस्तै भई आकार मात्र फरक (सिधा आकार र बांगो आकार) हुदैमा के नै असर गर्ला र भन्ने लाग्नु स्वाभाविक हो l तर आकारले नै अणुहरु कति नजिकै मिलेर बस्न सक्छन भन्ने निर्धारण गर्छ l सिधा सिधा आकार भएको अणु हरु धेरै वटा नजिकै मिलेर जोडिएर बस्न सक्छन भने बांगो आकार भएका अणु हरु बीच ग्याप बन्ने हुदा त्यसले अलिक बढी ठाउँ लिन्छ l त्यो फरकले मात्रै पनि त्यति धेरै असर गर्न सक्छ कि ती दुई आकारका अणु हरुको पग्लिने बिन्दु नै धेरै फरक हुन्छ l जस्तै कि बांगो आकारमा (सीस रुपमा) पाइने ओलिक एसिड १४ oC मा पग्लिन्छ (कोठाको तापक्रममा तरल हुन्छ) भने सिधा आकारमा पाइने त्यसैको समरूप एलाईडिक एसिड ४५ oC मा मात्र पग्लिन्छ (कोठाको तापक्रम मा जमेर बस्छ)l यसरि आकारमा परिबर्तन हुदा त्यसको अन्य भौतिक तथा रासायनिक गुणमा पनि फरक हुने हुदा त्यसले शरीरलाई गर्ने असर (राम्रो वा नराम्रो) पनि फरक फरक हुन सक्छ l

प्रश्न २. प्राकृतिक रुपमा पाइने ट्रान्स फ्याट कुन हो, कस्तो हुन्छ ?

प्राकृतिक रुपमा ट्रान्स फ्याट बनस्पतिबाट प्राप्त गरिने तेल हरुमा करिब करिब हुदैन l तर, घाँस खाने पशुको श्रोत बाट प्राप्त हुने खाद्य पदार्थहरु जस्तै मासु, दुध र सो बाट बनेका परिकारहरु (जस्तै दहि, चिज, बटर, घिऊ आदि) बाट प्राप्त हुने ट्रान्स फ्याट बारे कमै मात्र चर्चा हुने गरेको देखिन्छ l हाम्रो खानाको करिब १० प्रतिशत सम्म चिल्लो पदार्थको श्रोत ती खाद्य पदार्थ हुने गरेको पाइन्छ र भूमध्य सागरीय क्षेत्रमा हामीले खाने ट्रान्स फ्याट मध्ये करिब ५० % ट्रान्स फ्याट को श्रोत पनि ती खाद्य पदार्थहरु हुने तथ्यांक पाइन्छ l प्राकृतिक रुपमा पाइने ती ट्रान्स फ्याटमा बिशेष गरि भ्याक्सेनिक एसिड (एघारौ कार्बनमा ट्रान्स बन्धन भएको ), कन्जुगेटेड लिनोलेइक एसिड (नौ कार्बनमा सीस र एघारौ कार्बनमा ट्रान्स बन्धन भएको ) लगायतका ट्रान्स फ्याट्टी एसिड पाइन्छ जुन ती पशु हरुको पेटमा बिभिन्न जीवाणु हरुले उत्पादन गर्ने गर्दछ l पेटमा उत्पादन भएको ती ट्रान्स फ्याटहरु पशुको शरीरमा गई मासु तथा दुधमा समेत पाइने गरिन्छ l मानिसको पेटमा त्यस्ता ट्रान्स फ्याट बन्न सक्दैन, तर ती पशुको मासु तथा दुग्ध पदार्थको सेवन बाट त्यस्ता ट्रान्स फ्याट मानिसले प्राप्त गर्न सक्छन l

प्रश्न ३. औद्योगिक ट्रान्स फ्याट कुन हो, कसरि बन्छ ? के त्यो प्राकृतिक रुपमा पाइने ट्रान्स फ्याट भन्दा फरक हुन्छ ?

अठारौं शताब्दीको अन्त्य तिर तथा उन्नाइसौं शताब्दीमा भएको औद्योगिक क्रान्तिले संसारमा धेरै परिबर्तनहरु ल्यायो, खाद्य पदार्थको प्रशोधन, परिकार, आनीबानी, खानपानमा पनि ठुलो परिबर्तन भयो l पशुबाट प्राप्त गरिने घिऊ र बसस्पतिबाट प्राप्त गरिने तेलबाट मात्र बिभिन्न खाद्य पदार्थको लागी आवश्यक पर्ने चारित्रिक गुणहरु पुरा गर्न नसकिने अवस्था भयो l तेल छिटो बिग्रिने र कोठाको तापक्रममा तरल अवस्थामा रहने हुदा, त्यसमा परिबर्तनको आवश्यकता भयो l पाल्म र नरिवलको तेल प्राकृतिक रुपमै ठोस पाइने भए तापनि त्यसले मात्र आवश्यकता पुरा गर्न नसक्ने अवस्था रह्यो l त्यसैले अन्य बनस्पति तेल लाई हाइड्रोजिनेसन बिधिबाट ठोस र अर्ध ठोस अवस्थामा परिणत गरि बनस्पति घ्यू को रुपमा बिकसित गरियो, त्यसले बजारमा ठुलो प्रभाव पर्यो l घरमा, उद्योगमा, होटेल रेस्टुरेन्टमा सबै तिर बिभिन्न प्रकारका मिठाई बनाउन, तार्न,आइसक्रिम बनाउन, बिस्कुट , बेकरी बनाउन, लगायत बिभिन्न खाद्य पदार्थ हरु उत्पादन गर्न त्यसको प्रयोग भयो l

हाइड्रोजिनेसन गरिदा चिल्लो पदार्थको अणुमा रहेको कार्बनहरु बीचमा रहेका दोहोरो बन्धन लाई टुक्राई एकोहोरो बन्धन बनाउने गरिन्छ l यसरि दोहोरो बन्धन टुक्राउने प्रक्रियामा केहि दोहोरो बन्धनहरु घुम्न जाने वा अर्को ठाउमा सर्न सक्ने सम्भावना रहन्छ l त्यसो हुदा बांगो भएर बसेको चिल्लो पदार्थको अणु (सीस ) घुमेर फेरी सिधा भई (ट्रान्स बनि) पुन दोहोरो बन्धनमा नै बस्ने सम्भावना रहन्छ l l बांगो आकारको भन्दा सिधा आकारको अवस्था बढी स्थिर हुने हुदा यो औद्योगिक प्रक्रियामा विभिन्न प्रकारका ट्रान्स फ्याटहरु अनगिन्ति रुपमा बन्ने गर्दछन् l तथ्यांक अनुसार करिब ५० प्रतिशत सम्म दोहोरो बन्धन ट्रान्स रुपमा परिबर्तन हुन सक्ने देखिएको छ l यदि पूर्ण हाइड्रोजिनेसन गरि सबै दोहोरो बन्धन लाई एकोहोरो बन्धनमा परिबर्तन गर्ने हो भने ट्रान्स फ्याट बाँकि रहन सक्ने सम्भावना रहदैन, तर त्यसो गर्दा बनस्पति घ्यू एकदम कडा हुने हुदा आंशिक हाइड्रोजिनेसन मात्र गरि पग्लिने बिन्दु ३७ देखि ४१ oC हुने गरि बनाउने चलन छ , जसले गर्दा हाइड्रोजिनेसन हुन बाँकि रहेको दोहोरो बन्धन हरु ट्रान्स रुपमा बन्ने सम्भावना अधिक हुन जान्छ l बिगतमा बिभिन्न प्रकारका मार्गारिन, तार्न प्रयोग हुने बनस्पति घ्यू , केक, बेकरीमा प्रयोग हुने बेकरी सर्तेनिंग लगायतका विभिन्न पदार्थ हरु सो बिधि बाट उत्पादन गरिदा धेरै मात्रामा ट्रान्स फ्याट भएको चिल्लो पदार्थ बन्न गई सो प्रयोग गरिएको बिभिन्न खाद्य पदार्थहरुमा ट्रान्स फ्याटको मात्र रहन गएको देखिन्छ l

औद्योगिक रुपमा उत्पादन हुने ट्रान्स फ्याट माथि उल्लेख गरिएको प्राकृतिक रुपमा पाइने ट्रान्स फ्याट भन्दा रासायनिक रुपमा फरक पाइने गरिएको छ l जस्तै तेलमा प्राकृतिक रुपमा धेरै मात्रामा ओलिक एसिड ( नौ कार्बनमा सीस बन्धन ) पाइन्छ, जुन सीस रुपमा हुन्छ र त्यसको हाइड्रोजिनेसन प्रक्रियामा एलाइदिक एसिड (नौ कार्बनमा ट्रान्स बन्धन ) को रुपमा परिबर्तन हुन्छ l त्यसैको समरूप प्राकृतिक रुपमा पाइने ट्रान्स फ्याट भ्याक्सेनिक एसिडको (११ औ. कार्बनमा ट्रान्स रहेको ) छलफल माथि गरिएको थियो l ओलिक एसिड जस्तै गरि अन्य दोहोरो बन्धनहरु भएको फ्याट्टी एसिड हरु जस्तै लिनोलेनिक एसिड, लिनोलेइक एसिड लगायतका फ्यट्टी एसिडहरु पनि प्राकृतिक रुपमा पाइने सीस रुप (बांगो आकारको ) बाट हाइड्रोजिनेसन हुदा ट्रान्स रुप (सिधा आकारको ) बन्न सक्ने सम्भावना रहन्छ, जसले गर्दा बिभिन्न नया ट्रान्स फ्याट हरु उत्पादन हुन सक्छन l माथि उल्लेख गरिए अनुसार प्राकृतिक रुपमा कन्जुगेटेड लिनोलेइक एसिड पाइन्छ भने औद्योगिक ट्रान्स फ्याटको रुपमा त्यसैको समरूप लिनोलेलाईदिक एसिड पाइन्छ l

प्रशोधित तेलमा ट्रान्स फ्याट

बनस्पति तेलहरु निकाल्दा प्राकृतिक रुपमा पाइने बिभिन्न इन्जाइम हरुको कारणले फ्यट्टी एसिडको मात्र एकदम बढ्न गई तथा बिभिन्न अन्य पदार्थहरुको उपस्थिति भई खाद्य प्रयोजनको लागि अस्वीकार्य हुन सक्छ l धेरै जसो बनस्पति तेलहरुलाई खाद्य प्रयोजन युक्त बनाउन बिभिन्न प्रशोधन गर्नु आवश्यक हुन्छ जस्तै न्युट्रलाइजेसन, ब्लिचिंग, डीओडोराइजेसन आदि l बनस्पति तेलको उक्त प्रशोधन प्रक्रियमा बिशेष गरि ब्लिचिंग, डीओडोराइजेसन प्रक्रियामा ट्रान्स फ्याट बन्न सक्ने सम्भावना रहन्छ l जति धेरै तापक्रम र समय सम्म प्रशोधन गरियो, त्यति नै धेरै ट्रान्स फ्याट बन्न सक्ने सम्भावना रहन्छ l तर यसरि बन्ने ट्रान्स फ्याट माथि उल्लेखित हाइड्रोजिनेसन प्रक्रियामा बन्ने ट्रान्स फ्याट भन्दा धेरै नै कम हुन्छ l हामीले प्रयोग गर्ने सबै प्रशोधित तेल हरुमा करिब १% ट्रान्स फ्याटको मात्रा रहेको हुन्छ l केहि बनस्पति तेलहरु प्रशोधन नगरी पनि उपयोग गरिने प्रचलन छ , जस्तै तोरीको तेल, जैतुनको तेल आदि, त्यस्तो प्रशोधन नगरिएको तेलमा भने ट्रान्स फ्याट को मात्रा अनुपस्थित हुन्छ l अन्य तेलहरु जस्तै भटमासको तेल, सूर्यमुखी तेल आदिको प्रशोधन गर्न आवश्यक हुने हुदा सो प्रक्रियमा उत्पन्न हुने ट्रान्स फ्याट पूर्ण रुपले हटाउन सकिने अवस्था छैन l साथै, यदि तेल निकाल्नु अगाडीको तेलहन गेडा हरु धेरै पुरानो भएमा वा राम्रो संग भण्डारण नगरिएको अवस्थामा त्यसमा भएको इन्जाइमको क्रियाले केहि ट्रान्स फ्याट तेलहन गेडामा प्राकृतिक रुपमा नै बन्न सक्ने सम्भवना पनि रहन्छ l

तेलको भण्डारण तथा तेलमा फ्राइंग गर्दा हुने अक्सिडेसन (बिग्रिने प्रकृया) प्रक्रियामा पनि केहि ट्रान्स फ्याट बन्न सक्ने सम्भावना रहन्छ l बिशेष गरि तापक्रम २०० oC भन्दा बढी तापक्रममा धेरै बेर तेलको प्रयोग गरेमा ट्रान्स फ्याट बन्न सक्ने सम्भवन रहन्छ l त्यो प्रक्रिया बाट ट्रान्स फ्याट धेरै बन्नु पुर्व नै तेल बिग्रिएर गनाउने, बाक्लो हुने हुदा खान अयोग्य भई सक्ने हुदा उचित बिधि प्रयोग गरि खाद्य प्रशोधन गरेमा त्यसरी उत्पन्न भएको ट्रान्स फ्याट मानिसको शरीरमा प्रवेश गर्ने सम्भावना कम हुन्छ l

यसरि हेर्दा विशेष गरेर हाइड्रोजिनेसन प्रक्रियाबाट उत्पन्न भएको ट्रान्स फ्याट नै हाम्रो मुख्य श्रोतको रुपमा हुन सक्ने सम्भावना प्रवल देखिन्छ l प्रशोधित तेलमा ट्रान्स फ्याट को मात्रा तोकिएको मापदण्ड भित्र रहने गरि नियन्त्रण गर्न त्यति असहज हुदैन l

प्रश्न न. ४ . त्यसो भए कुन खाद्य पदार्थहरुमा ट्रान्स फ्याट पाइन्छ त ?

माथि उल्लेख गरिए जस्तै प्राकृतिक रुपमा पाइने ट्रान्स फ्याट घाँस खाने पशुजन्य उत्पादनहरु (मासु, दुध र परिकारहरु)मा पाइन्छ जुन औद्योगिक ट्रान्स फ्याट भन्दा फरक हुन्छ र प्रयोगशाला विश्लेषण गर्दा छुट्याउन सकिन्छ l औद्योगिक ट्रान्स फ्याट बिशेष गरि हाइड्रोजिनेसन गरिएको बनस्पति घ्यू र प्रशोधित तेलमा पाइन्छ l एकपल्ट ट्रान्स फ्याट बनिसकेको बनस्पति घ्यू र प्रशोधित तेलबाट त्यो हटाउन नसकिने हुदा त्यो प्रयोग गरि उत्पादन हुने हरेक खाद्य बस्तुमा त्यो पाइनु स्वाभाविक हो l रमाइलो त के छ भने बनस्पति घ्यू र प्रशोधित तेल सिधै उपभोग गरिदैन, खाद्य प्रशोधन प्रक्रियामा कच्चापदार्थको रुपमा प्रयोग गरिने हो l त्यसले गर्दा अन्य खाद्य प्रशोधन उद्योगलाई थाहा नै नभई उसले कच्चापदार्थको रुपमा प्रयोग गरेको बनस्पति घ्यू र प्रशोधित तेलबाट उद्योगले उत्पादन गरेको अन्य खाद्य पदार्थहरु जस्तै आइसक्रिम, बिस्कुट, केक आदि मा ट्रान्स फ्याटको मात्रा बढ्न सक्छ र हामीले ती खाद्य पदार्थ उपभोग गर्दा ट्रान्स फ्याट पनि उपभोग गरि राखेको हुन सक्ने सम्भावना रहन्छ l

यसरि हेर्दा हामीले ट्रान्स फ्याट बिभिन्न खाद्य पदार्थको रुपमा नै प्राप्त गरि राखेका हुन्छौ तर त्यसको मुख्य श्रोत भने त्यसमा प्रयोग भएको कच्चा पदार्थ हुन सक्ने हुन्छ l

भारतको एउटा प्रतिष्टित विश्वविद्यालयको शोधपत्र हेर्दै गर्दा भारतमा पाइने सबै मिठाई केक बिस्कुट, हलवा, जेरी, खिर, ब्रेड, समोसा आदी इत्यादीमा ५०% सम्म ट्रान्स फ्याट भएको भनि उल्लेख गरिएको रहेछ र त्यसलाई एकदम नै डरलाग्दो रुपले प्रस्तुत गरिएको रहेछl अच्चम्म लागेर त्यसको श्रोत खोज्दै जादा त्यो हाइड्रोजिनेसन गरिएको बनस्पति घ्यू प्रयोग गर्दा हुन सक्ने अनुमान मात्रै रैछ l त्यो पनि पशुको श्रोतबाट पाइने र औद्योगिक ट्रान्स फ्याट नछुट्याई सबै लाई सगोलमा राखी ब्याख्या गर्नु मलाई उपयुक्त लागेन, किनकि पशुको श्रोतबाट पाइने ट्रान्स फ्याटको शरीरलाई फाइदा गर्ने गुण पनि छ भने औद्योगिक ट्रान्स फ्याटले शरीर लाई वेफाइदा गर्ने गुण पुष्ट्याई भई सकेको छ l त्यसैले अनुमान र अन्दाजको भरमा भन्दा प्रयोगशाला विश्लेषण कै बिधि बाट ती दुइ प्रकारका ट्रान्स फ्याट लाई छुट्याएर खाद्य पदार्थमा रहेको ट्रान्स फ्याट चेक जांच गर्नु आजको आवश्यकता हो l

प्रश्न ५. ट्रान्स फ्याट को असरहरु कस्ता छन् ?

ट्रान्स फ्याट ले शरीरमा गर्ने असरहरु धेरै अध्ययन भएका छन् l मुख्यत यसले रगतमा कोलेस्टेरोल को मात्र बढाउने, त्यसमा पनि मुख्यत नराम्रो कोलेस्टेरोल (LDL) को मात्र बढाउने र राम्रो कोलेस्टेरोल (HDL) को मात्रा घटाउने असर देखिएको छ l नराम्रो कोलेस्टेरोल बढेर रगतको नशामा टासिएर मुटु को रोग निम्त्याउन सक्ने, र हृदयघातको सम्भावना बढाउन सक्छ l अनुसन्धानले देखाए अनुसार खानाबाट ट्रान्स फ्याट करिब ४ % घटाउन सकियो भने हृदयघात बाट हुन सक्ने मृत्यु को सम्भावना २३ % सम्म घटाउन सकिन्छ l

यसो भन्दै गर्दा केहि प्राकृतिक रुपमा पाइने ट्रान्स फ्याट (कन्जुगेटेड लिनोलेइक एसिड) ले हाम्रो शरीरलाई फाइदा गर्ने गुण हरु पनि देखिएको छ l यसको सहि उपभोगले क्यान्सरबाट बचाउने गुण हरु पनि देखिएको छ भने यसले राम्रो कोलेस्टेरोलको मात्रा बढाउन र नराम्रो कोलेस्टेरोलको मात्रा घटाउन पनि सहयोगी हुने पाइएको छ , जसले गर्दा हृदयघात बाट हुन सक्ने मृत्यु को सम्भावना कम गर्न मद्दत पनि गर्छ l

यसरि फाइदा र बेफाइदा दुवै गर्न सक्ने ट्रान्स फ्याट हरु हुन सक्छन l बिशेष गरि औद्योगिक ट्रान्स फ्याट ले शरीरमा नकारात्मक असर गर्ने गरेको पाइएको हुदा त्यसको नियमन हुनु पर्ने गरि संसार भरि प्रयास भएको पाइन्छ l

प्रश्न ६. ट्रान्स फ्याटको नियमन कसरि भई रहेको छ ?

डेनमार्क पहिलो देश हो जसले औद्योगिक ट्रान्स फ्याटको जोखिम कम गर्न को लागि कानुन नै बनाएर नियमनको काम शुरु गरेको छ l उक्त कानुन अनुसार औद्योगिक ट्रान्स फ्याट को मात्रा हाइड्रोजिनेसन गरिएको बनस्पति घ्यू र त्यस्ता पदार्थ प्रयोग गरि बनाइएका खाद्य पदार्थहरुमा पाइने चिल्लो पदार्थको मात्राको आधारमा २ % भन्दा बढी हुनु हुदैन l ट्रान्स फ्याटको नियमनको आवश्यकता लाई महशुस गरि नेपालले पनि सोहि अनुरुपको मापदण्ड बनाई लागु गरेको छ l

ट्रान्स फ्याटको मात्रा घटाउने प्रबिधि तथा तरिका संसारमा धेरै वटा बिकसित भैसकेको छ, त्यसको छुट्टै प्राबिधिक पक्ष छ, त्यसमा अहिले छलफल नगरौ l उक्त मापदण्डमा कसरी तोकिएको मात्रा भित्र हुने गरी उत्पादन गर्ने भन्ने नखुलाइएको हुदा उधोगीहरुले आवश्यकताअनुसार विभिन्न बिधिहरु प्रयोग गर्ने छुट कानुनले दिएको जस्तो लाग्छ l

मापदण्डले ट्रान्स फ्याटको मात्रा को अतिरिक्त लेबल सम्बन्धि पनि प्राबधान थपेको छ l उक्त मापदण्ड बमोजिम उल्लेखित गुणस्तरको क्षेत्रले समेटेको खाद्य पदार्थहरुमा लेबलमा हुनु पर्ने अन्य अनिवार्य विवरणहरुको अतिरिक्त ट्रान्स फ्याटको मात्रा पनि उल्लेख गर्नु पर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ, भने ०.२ ग्राम ट्रान्स फ्याट प्रति १०० ग्राम चिल्लो पदार्थको तौल भन्दा कम भएमा तेस्तो खाद्य पदार्थको लेवल मा “ट्रान्स फ्याट रहित” (Trans fat free) लेख्न सकिने व्यवस्था पनि गरिदिएको छ l यसरि नेपालले ट्रान्स फ्याट को मात्राको नियमन गर्नुको साथै उपभोक्तालाई सो बारे लेबलमा पनि जानकारी दिने गरि दुवै बिधि अपनाएर ट्रान्स फ्याटको उपभोग मात्रा कम गर्ने कोशिस गरिएको मान्न सकिन्छ l

उही फ्याट्टी एसिड भएता पनि सिधा र बांगो आकारको कारणले गर्दा त्यसको रासायनिक गुणमा हुने फरकपनको कारणले गर्दा ती फ्यट्टी एसिड हरु लाई ग्यास क्रोमाटोग्राफीमा छुट्टयाई त्यसको मात्रा मापन गर्न सकिन्छ l मापदण्डमा उल्लेखित ट्रान्स फ्याटको प्रयोगशाला विश्लेषण बिधिको सम्पूर्ण कार्य पनि पुरा गरी चेकजाँच को कामलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले सुरुवात गर्न थालेको छ l विभागको यो प्रयासले नेपालीहरुको ट्रान्स फ्याट को उपभोग मात्रामा कमि ल्याई त्यसको नकारात्मक असरहरुलाई कम गर्न मद्दत मिल्ने आशा गर्न सकिन्छ l

1 comment:

Popular Posts