Friday, May 23, 2025

ट्रान्स फ्याट बारे छलफल

  • ट्रान्स फ्याटलाई अति खराब चिल्लो (अखचि) भनि नेपाली नामकरण गर्ने बारे छलफल भएको सुनिन्छ, त्यसमा सहमत हुनेहरु पनि छन्, र असहमति जनाउनेहरु पनि l बिज्ञहरु बीच पनि यो छलफल को बिषय नै हो l
  • ट्रान्स फ्याट धेरैको लागि एउटा नौलो बिषय हो l यस बारे उपभोक्ताको बुझाईमा कमि नै छ जस्तो लाग्छ l
  • एकातिर ट्रान्स फ्याट एकदमै नराम्रो हानिकारक चिल्लो पदार्थ हो भन्ने बुझाई बिभिन्न माध्ययमबाट सुन्न पाइन्छ, अर्को तिर ट्रान्स फ्याट दुध, तेल, माछा, मासु, चिज, बेकरी, आइसक्रिम लगायत चिल्लो पदार्थ हुने करिब सबै खाद्य पदार्थमा पाइन्छ भन्ने पनि सुन्न पाइन्छ l त्यसो भए उपभोक्ताले गर्ने चै के होला ?, के सबै चिल्लो पदार्थ भएका खाद्य पदार्थ लाई खान पो छोडिदिने कि ? त्यसमा पोषणयुक्त मानिएका खाध्य पदार्थहरु पनि पर्दछन, फेरी ती खाद्य पदार्थहरु केहि नखाएर शरीरलाई चाहिने पोषण कसरि प्राप्त गर्ने ?
  • प्रशोधित खाद्य पदार्थ खानै हुदैन भन्ने पनि भेटिन्छन, ती सबैमा ट्रान्स फ्याट हुने पो हो कि ?
  • तारेर पकाएकोमा ट्रान्स फ्याट हुन्छ भन्ने पनि सुनिन्छ भने फ्रोजन गरेको आइसक्रिमहरुमा ट्रान्स फ्याट बढी हुन्छ भन्ने पनि सुनिएको छ l

साधारण उपभोक्ताको लागि अलमलिने बिषय नै हो जस्तो लाग्छ l तर बिषयको गाम्भीर्यताको कारण उपभोक्ताले बुझ्न जरुरि पनि  छ l यो लेख बिज्ञहरुको लागि होइन, साधारण उपभोक्ताको लागी प्राबिधिक बिषयलाइ सरलीकृत गर्न कोशिस गरेर आफ्नो बुझाई र केहि विचार राख्ने कोशिस मात्र हो l प्राबिधिक शब्दहरुलाई नेपालीकरण गर्न खोज्दा धेरै ठाउमा नमिलेको आफैलाई महशुस भएको छ, सुधारको लागि सहयोग गर्नु होला l बिज्ञहरुले गल्तिहरुलाई औल्याई, छुटपुट बिषयलाइ थप गरि प्रतिक्रिया प्रदान गरिदिनु हुनेछ भन्ने आशा छ l लेख अलिक लामो भयो जस्तो छ, तपाइको अमुल्य समयको लागि अग्रिम धन्यवाद l

प्रश्न १ . ट्रान्स फ्याट के हो ?

ट्रान्स फ्याटको शाब्दिक अर्थ नेपाली नामकरण गर्न खोजीएको जस्तो “अति खराब चिल्लो (अखचि)” चै होइन l त्यो खराब हो कि होइन र कति खराब हो ?, पछी छलफल गरौला l पहिला ट्रान्स फ्याट के हो ? त्यो छलफल गरौ l

“ट्रान्स” भन्ने शब्द रसायन बिज्ञान को शब्द हो l चिल्लो पदार्थहरु मूलतः कार्बन, हाइड्रोजन र अक्सिजनहरु बाट बनेको हुन्छ l त्यसको प्रत्येक फ्याट्टी एसिडको अणुमा २ देखि करिब ३० वटा सम्म कार्बनको परमाणुहरु एक आपसमा सिक्री जस्तै लामो जोडिएर बनेको हुन्छ l ती कार्बनको परमाणु हरु बीच एकोहोरो, दोहोरो वा तेहोरो सम्मको बन्धन हुन सक्छन l दोहोरो बन्धन भएको ठाउमा चिल्लो पदार्थको अणुको सिक्रीको आकार बंगिएको भए त्यसलाई “सीस रुपको” भनिन्छ भने, कुनै चिल्लो पदार्थको अणुको सिक्रीमा दोहोरो बन्धन भएको ठाउमा पनि सिधा रहेको हुन्छ र त्यस्तो अवस्थाको बन्धनलाई “ट्रान्स रुपको” भनिन्छ l साधारण रुपमा बुझ्नु पर्दा दोहोरो बन्धन भएर पनि नाबांगिएको सिधा आकारको फ्याट्टी एसिड भएको चिल्लो पदार्थ नै “ट्रान्स फ्याट” को स्वरूप हो l धेरै जसो चिल्लो पदार्थको फ्याट्टी एसिड प्राकृतिक रुपमा बांगो आकार (सीस अवस्था) मा पाइन्छ, तर सिधा आकारको (ट्रान्स फ्याट) फ्याट्टी एसिड भएको चिल्लो पदार्थ बिभिन्न खाद्य पदार्थमा प्राकृतिक रुपमै केहि मात्रामा पाइने गर्छ l

Wednesday, May 21, 2025

बजारमा उपलब्ध अचारमा बेन्जोइक एसिडको मात्रा र मापदण्ड

नेपाल राजपत्र भाग ५ मिति २०६७/०६/२५ खण्ड ६० संख्या २६ मा प्रकाशित परिरक्षी सम्बन्धि अनिवार्य गुणस्तर बमोजिम अचारमा बेन्जोइक एसिडको मात्रा अधिकतम २५० पी. पी. एम. (२५० मि. ग्रा. प्रति केजी ) तोकिएको छ  l

बजारमा उपलब्ध अचारहरुको लेबलमा उल्लेखित विवरण अनुसार अचारमा २०० देखी २३५ मि. ग्रा. प्रति १०० ग्राम (करिब २००० पी. पी. एम. भन्दा बढी) बेन्जोइक एसिड प्रयोग गरिएको भनी उत्पादकले नै लेबलमा उल्लेख गरिएको देखिन्छ l खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १५ (घ) अनुसार बहिर्मिश्रित रसायन तोकिएको अधिकतम सीमाभन्दा बढी भएमा त्यस्तो खाद्य पदार्थलाई दूषित खाद्य पदार्थ भनी परिभाषित गरिएको र त्यस बिपरित कार्य गरेमा दफा ५० (ङ) विपरित कसुर गरेको मानिने र सो कसुरमा दफा ४२ (ग) बमोजिम एक बर्ष सम्म कैद वा चार लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने सम्मको प्राबधान रहेछ l  उत्पादक र अनुमति पत्र नम्बर पनि लेबलमा नै देखिन्छ l तोकिएको मात्रा भन्दा १० गुणा बढी प्रयोग गर्न अनुमति दिने कुरा पक्कै भएन होला, उत्पादकलाई जानकारी गराई  सुधार होस् भन्ने कामना l

Friday, May 16, 2025

अन्नमा आधारित पुरक बाल आहारको (Cereal Based Complementary Foods) लागि तोकिएको मापदण्ड कति तथ्यपरक ?

तत्कालिन खाद्य ऐन २०२३ र नियमावली २०२७ बमोजिम ०७.२८ अन्नमा आधारित पुरक बाल आहार (Cereal Based Complementary Foods for Infants and Young Children) नामक खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्ड मिति २०७९/११/०१ मा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६० मा प्रकाशन भएको छ l

उक्त मापदण्डको आवश्यक गुणस्तर परिधिहरुमा बिभिन्न चारित्रिक गुणहरु र त्यसको मात्रा तोकिएको छ, जसमध्ये खाद्य पदार्थहरुको मुख्य पोषक तत्वहरुको विवरण (proximate composition) संग सम्बन्धित चारित्रिक गुणहरु देहाय बमोजिम तोकिएको पाइन्छ :

क्र. स.

चारित्रिक गुणहरु

मात्रा

1

जलांश, प्रतिशत बढीमा (Moisture, Maximum)

8.0

2

चिल्लो पदार्थ, प्रतिशत बढीमा (सुख्खा तौलको आधारमा) (Total fat, Maximum)

13.0

3

कुल प्रोटिन, प्रतिशत घटीमा (सुख्खा तौलको आधारमा) (Total Protein, Minimum) (N x 6.25)

15.0

4

कुल कार्बोहाइड्रेट, प्रतिशत बढीमा (सुख्खा तौलको आधारमा) (Total Carbohydrate, Maximum)

56.0

5

क्रुड फाइबर, प्रतिशत बढीमा (सुख्खा तौलको आधारमा) (Crude fiber, Maximum)

3.0

6

कुल भष्म, प्रतिशत बढीमा (सुख्खा तौलको आधारमा) (Total Ash, Maximum)

5.0

यी माथिका सबै गुणहरु अनिवार्य गुणस्तरमा पर्ने भएको हुदा सबै मापदण्ड पुरा भएमा मात्र उक्त खाद्य पदार्थ गुणस्तरीय रहेको कानुनी मान्यता पाउने हुन्छ l उक्त मापदण्डमा मुख्य पोषकतत्वहरु प्रयोगशाला विश्लेषण नतिजाबाट प्राप्त गरि सकेपछि कार्बोहाइड्रेटको मात्रालाई बाँकि पोषक तत्वको रुपमा आँकलन (calculation by difference) गर्ने गरिन्छ l त्यसैले Monte Carlo Simulation Software को प्रयोग गरि कार्बोहाइड्रेट बाहेकको मापदण्डहरु पुरा गर्ने गरी (Fat content 0-13% db, Protein content 15 to 30 % db, Crude fiber 0-3 % db and Total ash 0 to 5% db with uniform distribution for whole range)  कम्प्युटर सिमुलेसन (Simulation) बाट 10,000 वटा फरक फरक कम्पोजिसन भएको अन्नमा आधारित पुरक बाल आहारको कम्पोजिसन तयार गरि ती सबैको कार्बोहाइड्रेटको मात्रा आँकलन गरिएको थियो l उक्त अनुसन्धानबाट प्राप्त 10,000 कम्पोजिसनको  कार्बोहाइड्रेटको मात्राको frequency distribution तल देखाइएको छ l 

Popular Posts